काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विगतमा सत्ता र शक्ति दुरुपयोग गरेर कानुन संशोधन गर्ने तथा अध्यादेश ल्याएर आफ्नालाई बचाउने र विपक्षीलाई फसाउने प्रवृत्ति रहेको आरोप लगाए। “अब त्यस्तो गलत अभ्यास दोहोरिने छैन,” उनले भने।
उनले आस्थाका आधारमा विभेद नगर्ने र सबैलाई समान व्यवहार गरिने प्रतिबद्धता व्यक्त गरे। संसदीय अभ्यासलाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उनले अब कसैको आवाज दबाउन माइक काट्ने जस्ता गतिविधि अन्त्य हुने बताए।
“अब विधि मिचेर कसैको आवाज दबाइने छैन, संसदीय समितिमा पनि संख्याको दुरुपयोग हुने छैन,” उनले स्पष्ट पारे।
लामिछानेले सुशासनलाई प्राथमिकतामा राख्दै न्यायको मागलाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले शहीद परिवार र अन्य पीडितले न्याय पाउनुपर्ने उल्लेख गर्दै त्यसलाई प्रतिशोधको रूपमा नहेर्न आग्रह गरे।
उनका अनुसार सुशासनको अभियानलाई तीव्र रूपमा अघि बढाइनेछ र राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउनेतर्फ सरकार केन्द्रित हुनेछ।