रेमिट्यान्समा उल्लेख्य वृद्धि, फागुनसम्म १४ खर्ब ४९ अर्ब भित्रियो

२ हप्ता अगाडि
रेमिट्यान्समा उल्लेख्य वृद्धि, फागुनसम्म १४ खर्ब ४९ अर्ब भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिसम्म विदेशमा रहेका नेपालीहरूले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३७.७ प्रतिशतले बढी हो ।

गत वर्ष सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । यस वर्षको फागुन महिनामा मात्रै एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही महिनामा एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ आएको थियो।

अमेरिकी डलरमा समेत रेमिट्यान्समा उल्लेखनीय वृद्धि देखिएको छ। समीक्षा अवधिमा यस्तो आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष भने यस्तो वृद्धि दर ७.१ प्रतिशत मात्र थियो।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो।

वैदेशिक रोजगारीतर्फ हेर्दा, अन्तिम श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या घटेको देखिन्छ। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या दुई लाख ७३ हजार ५३६ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ५१ हजार ९८५ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी संख्या क्रमशः तीन लाख १७ हजार ६८ र दुई लाख १७ हजार ४०३ रहेका थिए।

बाह्य क्षेत्रका सूचकहरू पनि सकारात्मक देखिएका छन्। समीक्षा अवधिमा चालू खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ९७ अर्ब ३ करोड मात्र बचतमा थियो। अमेरिकी डलरमा समेत चालू खाता बचत बढेर तीन अर्ब ८८ करोड पुगेको छ।

त्यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि वृद्धि भई १० अर्ब ८४ करोड पुगेको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४७ करोड थियो। शोधनान्तर स्थिति समेत सुदृढ बन्दै गएको देखिएको छ, समीक्षा अवधिमा यो छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा थियो।

समग्रमा, विप्रेषणमा आएको वृद्धि र बाह्य क्षेत्रका सूचकहरूमा सुधारले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको अर्थविद्हरूले बताएका छन्।