काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गत भएको खेलमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ। यस जितसँगै हैदराबादले सिजनको पहिलो सफलता हात पारेको हो।
ईडेन गार्डेन्समा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल खडा गर्यो। टोलीका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गर्दै ५२ रन बनाए भने अभिषेक शर्मा र ट्राभिस हेडले क्रमशः ४८ र ४६ रनको योगदान दिए।
ओपनिङ जोडीले आक्रामक सुरुवात दिलाउँदै छोटो समयमा ठूलो स्कोर बनाउने आधार तयार पारेका थिए। त्यसपछि मध्यक्रममा केही विकेट गुमे पनि क्लासेन र नितीश कुमार रेड्डीबीचको महत्वपूर्ण साझेदारीले टोलीलाई बलियो स्थितिमा पुर्यायो।
जितका लागि २२७ रनको लक्ष्य पछ्याएको कोलकाताको ब्याटिङ भने टिक्न सकेन। टोली १६ ओभरमै १६१ रनमा समेटियो। अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। रिंकू सिंहले ३५ रनको योगदान दिए।
बलिङतर्फ हैदराबादका जयदेव उनादकटले ३ विकेट लिए भने ईशान मलिंगा र नितीश रेड्डीले समान २–२ विकेट लिए। अन्य बलरहरूले पनि दबाब कायम राख्दै कोलकातालाई लक्ष्यमा पुग्न दिएनन्।
यस जितसँगै हैदराबादले लय समातेको संकेत दिएको छ भने कोलकाताले घरेलु मैदानमै निराशाजनक हार बेहोर्नुपरेको छ।