काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै विभिन्न प्राविधिक पदमा ६०७ जनालाई खुला प्रतिस्पर्धाबाट भर्ना गर्न लागिएको जनाएको हो।
प्रहरीका अनुसार सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, विधि विज्ञान प्रयोगशाला र प्रहरी अस्पताल लगायतका निकायका लागि दरखास्त आह्वान गरिएको छ।
यस भर्नाअन्तर्गत प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी), प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पद समेटिएका छन्।
डीएसपी, निरीक्षक, सई र असई पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस्तै, प्राविधिक प्रहरी जवानका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
प्रहरीले समावेशी प्रावधानअनुसार खुला प्रतियोगितामार्फत पदपूर्ति गरिने स्पष्ट पारेको छ। इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरिएको छ।