इरान युद्धकै बीच अमेरिकी सेनामा नेतृत्व हेरफेर

२ हप्ता अगाडि
इरान युद्धकै बीच अमेरिकी सेनामा नेतृत्व हेरफेर

काठमाडौं । अमेरिकाले इरान सँग जारी युद्धकै बीच आफ्नो सेनाको उच्च नेतृत्वमा परिवर्तन सुरु गरेको छ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले आर्मी चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज लाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। पेन्टागनका मुख्य प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमार्फत जर्ज तत्कालै अवकाशमा जाने जानकारी दिएका हुन्।

यद्यपि उनलाई किन पद त्याग्न भनियो भन्ने विषयमा आधिकारिक कारण खुलाइएको छैन। रक्षा विभागका एक अधिकारीका अनुसार सेनामा नयाँ नेतृत्व ल्याउने समय आएको ठहर गरिएको हो।

अब आर्मीका उपप्रमुख जनरल क्रिस्टोफर लानेभ ले कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने जनाइएको छ। उनलाई युद्ध अनुभव भएको नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ।

जर्ज सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेन द्वारा नियुक्त भएका थिए। अमेरिकामा आर्मी प्रमुखको कार्यकाल सामान्यतया चार वर्षको हुने गर्दछ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पनि पदमुक्त गरेका छन्। हेग्सेथ रक्षामन्त्री बनेयता नौसेना र वायुसेनाका उच्च अधिकारीसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारी हटाइसकिएको बताइएको छ।

फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरान माथि संयुक्त हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले मध्यपूर्वभर फैलिएको छ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार युद्धमा हालसम्म ५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। सबैभन्दा बढी क्षति इरानमा भएको छ भने लेबनन, इराक, इजरायल र खाडी क्षेत्रका देशहरूमा पनि उल्लेख्य मानवीय क्षति भएको छ।