काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ३६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने परिवर्तन नभई स्थिर रहेको हो। आज सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेको थियो भने त्यसको भोलिपल्ट फेरि घटेको थियो।
नेपाली बजारमा यस वर्षको सबैभन्दा उच्च मूल्य भने माघ १५ गते कायम भएको थियो, जतिबेला सुनको भाउ एकैदिन २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो।
यता चाँदीको मूल्य भने आज पनि उकालो लागेको छ। तोलामा ५० रुपैयाँले बढेर चाँदीको भाउ चार हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यसअघि माघ १८ गते चाँदीको मूल्य एकैदिन १५ सय ६५ रुपैयाँले घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ। त्यस्तै माघ १५ गते नै चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।