एमाले जोगाउन एकताका लागि ईश्वर पोखरेलकाे आह्वान

२ हप्ता अगाडि
एमाले जोगाउन एकताका लागि ईश्वर पोखरेलकाे आह्वान

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी एमाले लाई वर्तमान चुनौतीबाट जोगाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

पार्टीभित्र देखिएको विवाद र जटिल परिस्थितिका बीच उनले एमालेको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक बललाई सम्झँदै सामूहिक नेतृत्व र विधि–पद्धतिको पालनामा जोड दिएका हुन्।

पोखरेलले एमाले स्थापना कालदेखि नै विभिन्न प्रतिकूल अवस्थासँग जुध्दै सुदृढ बन्दै आएको उल्लेख गर्दै अहिले पनि त्यही मार्गदर्शन आवश्यक रहेको बताए। उनले जनतामाझ स्पष्ट पहिचान कायम राख्न र पार्टीको हैसियत थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार हालको राजनीतिक परिवेशमा सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद र विधि विपरीतका गतिविधिले पार्टीलाई कमजोर बनाउने खतरा बढाएको छ। यस्तो अवस्थामा नेता, कार्यकर्ता र समर्थकबीच एकता अपरिहार्य रहेको उनले बताएका छन्।

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन सोच र व्यवहारमा समयअनुसार परिवर्तन आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले सबै पंक्तिलाई सचेत रहन आह्वान गर्दै भने, वर्तमान चुनौतीको सामना गर्दै एमालेको सुदृढीकरण र संरक्षण एकताबाट मात्रै सम्भव हुने बताए।