डीपी अर्याल निर्विरोध सभामुख, रास्वपाको एकल वर्चस्व

२ हप्ता अगाडि
डीपी अर्याल निर्विरोध सभामुख, रास्वपाको एकल वर्चस्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्विरोध चयन भएका छन्। तोकिएको समयभित्र अन्य कुनै उम्मेदवार नआएपछि उनी एकल उम्मेदवारका रूपमा सभामुख बन्ने निश्चित भएको हो।

संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। सो अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनको चयन निर्विरोध भएको हो। उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका थिए भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

रास्वपाको संसद्मा करिब दुई तिहाइ बहुमत रहेकाले विपक्षी दलले उम्मेदवारी नदिएको बताइएको छ। अब बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक घोषणा गरेपछि अर्यालले सभामुखको जिम्मेवारी सम्हाल्नेछन्। उनले संविधान, कानुन र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यका तीनै अंगबीच सन्तुलन कायम गर्न आफू सक्रिय रहने बताएका छन्।