काठमाडौं । मौसम पूर्वानुमान महाशाखा ले देशका विभिन्न भागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। जसका कारण हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज राति पनि पहाडी तथा हिमाली भूभागमा यस्तै मौसम रहने तथा केही स्थानमा वर्षा र हिमपात जारी रहने प्रक्षेपण गरिएको छ।