काठमाडौं । नेपाली कांग्रेस ले १५औं महाधिवेशनको तयारी प्रक्रिया आज (शनिबार) देखि औपचारिक रूपमा अघि बढाउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनका लागि कार्यतालिका कार्यान्वयनमा ल्याउन लागिएको हो।
पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसअघि बसेको बैठकले सोहीअनुसार विस्तृत कार्ययोजना पारित गरेको थियो।
कार्यतालिकाअनुसार केन्द्रबाट सदस्यता फाराम वडास्तरसम्म पठाउने काम सुरु हुँदैछ भने देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने तयारी गरिएको छ। ती प्रतिनिधिहरूलाई आज दिउँसो सानेपामा अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रममार्फत प्रशिक्षण दिइने छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार अभिमुखीकरणपछि प्रतिनिधिहरूको नाम सार्वजनिक गरिनेछ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।
पार्टीले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गर्नेछ। त्यसपछि वडास्तरबाट संकलित सदस्यता विवरण जेठ १५ भित्र जिल्ला र निर्वाचन क्षेत्रमा पठाइनेछ।
त्यसैगरी जेठ २५ भित्र सबै विवरण केन्द्रमा बुझाउने र असार १५ भित्र अन्तिम टुंगो लगाउने कार्यतालिका तय गरिएको छ। असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरिने योजना छ।
यद्यपि, पार्टीभित्र देखिएको विवाद अदालतमा विचाराधीन रहेकाले महाधिवेशन प्रक्रिया त्यसले प्रभाव पार्ने वा नपार्ने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।