शंकर ग्रुप प्रकरणमा थप कारबाही : सुलभ अग्रवाल पनि पक्राउ

१ हप्ता अगाडि
शंकर ग्रुप प्रकरणमा थप कारबाही : सुलभ अग्रवाल पनि पक्राउ

भैरहवा । सुलभ अग्रवाललाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ। उनी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुन्।

प्रहरीका अनुसार सुलभ अग्रवाल व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रूपमा चिनिन्छन् । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेका बेला नियन्त्रणमा लिइएको हो।

यसअघि शुक्रबार नै शंकरलाल अग्रवाललाई पनि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरिसकेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा सीआईबीले यो कारबाही अघि बढाएको हो। सोही प्रकरणमा पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौंले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।

प्रहरी स्रोतका अनुसार भट्टसहित उनका साझेदारहरूविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। यससँगै उक्त प्रकरणमा अनुसन्धानको दायरा थप फराकिलो बन्दै गएको छ।