अबुधाबी । नेपाली दूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्समा भएको ड्रोन दुर्घटनामा घाइते नेपालीहरूको अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गरेको छ।
शुक्रबार अबुधाबीको अब्जान क्षेत्रमा ड्रोनका अवशेष खस्दा ७ जना नेपाली घाइते भएका थिए। दूतावासका अनुसार ६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको अवस्था सुधारउन्मुख रहेको छ।
घाइतेहरू आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेकाले व्यक्तिगत विवरण गोप्य राखिएको दूतावासले जनाएको छ।
दूतावासले टेलिफोनमार्फत सबै घाइतेसँग सम्पर्क गर्नुका साथै केहीलाई प्रत्यक्ष भेटेर अवस्थाबारे जानकारी लिएको छ। आवश्यक उपचार र समन्वयमा निरन्तर सहजीकरण भइरहेको पनि बताइएको छ।
हाल मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षा निर्देशिका पालना गर्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।
यसअघि क्षेत्रीय तनावकै क्रममा यूएईमा एक नेपाली नागरिकको ज्यान गइसकेको घटनासमेत दूतावासले स्मरण गराएको छ।