काठमाडौं । उपसभामुख पद कसले पाउने भन्ने चर्चा चुलिँदै जाँदा ज्ञानेन्द्र शाहीले रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।
शनिबार लामिछानेको निवासमै भएको करिब एक घण्टाको भेटमा उपसभामुख चयनको रणनीतिबारे केन्द्रित छलफल भएको शाहीले जानकारी दिए । उनले विस्तृत विवरण खुलाउन नचाहे पनि राप्रपाबाट उपसभामुख बनाउनुपर्ने चाहना लामिछानेको रहेको दाबी गरे ।
भेटपछि शाहीले सामाजिक सञ्जालमार्फत एकजुट भएर देश निर्माणको अभियानमा अघि बढिरहेको उल्लेख गरेका छन् । यसअघि डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध चयन भइसकेका छन् । अब उपसभामुखका लागि चैत २२ गते निर्वाचन तय भएको छ।
यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उपसभामुखमा दाबी गर्दै महिला उम्मेदवार उठाउने घोषणा गरेको छ। नेपाली कांग्रेस र नेकपाले पनि उक्त पदमा चासो देखाएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ (१८२ सिट) बहुमत भएकाले उसले जसलाई समर्थन गर्छ, उसैको पक्षमा परिणाम जाने देखिन्छ।