मौसम पूर्वानुमान

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

१ हप्ता अगाडि
आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिँदा देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो पहाड र हिमाली भूभागमा सामान्यदेखि बढी बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा अन्य तराईका एक–दुई ठाउँमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना पनि रहेको जनाइएको छ।

रातिको समयमा भने हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडमा आंशिक बदली हुने र तराईका अधिकांश स्थानमा मौसम सफा रहने बताइएको छ। केही हिमाली तथा पहाडी क्षेत्रमा भने हल्का वर्षा र हिमपात जारी रहने सम्भावना महाशाखाले औँल्याएको छ।

मौसममा आएको परिवर्तनका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।