प्युठान । ऐरावती गाउँपालिका–१ छेडाघाटस्थित बस्तीमा शनिबार राति भीषण आगलागी भएको छ। स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदै बस्तीमा पुगेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरी अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट करिब ३० जना सुरक्षाकर्मी खटिएका थिए।
शनिबार राति करिब पौने १२ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय बासिन्दाको संयुक्त प्रयास आवश्यक परेको थियो। लामो प्रयासपछि आइतबार बिहान करिब ७ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
आगलागीबाट बस्तीका १३ घरपरिवारका घर तथा गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार घटनाबाट झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।