काठमाडौं । नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा पेसीमा परेको छ। उक्त मुद्दा आजको सूचीमा १२ औं नम्बरमा राखिएको छ।
यसअघि चैत १ गते पनि पेसी तोकिए पनि पालो नआएका कारण सुनुवाइ हुन सकेको थिएन। त्यतिबेला रिट दायरकर्ता पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए।
आजको सुनुवाइका लागि दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन्। उपसभापति विश्व प्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि त्यसको विरोधमा खड्काले रिट दायर गरेका हुन्। उक्त रिटमा थापा, शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
मुद्दाको सुनुवाइपछि कांग्रेसको आधिकारिकता विवादमा महत्वपूर्ण कानुनी दिशानिर्देश आउने अपेक्षा गरिएको छ।