काठमाडौं । इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला बहराइनमा ड्रोनका भग्नावशेष लागेर चार जना घाइते भएका छन्।
बहराइनको आन्तरिक मन्त्रालयका अनुसार अवरोध गरिएका ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा सर्वसाधारण घाइते भएका हुन्। घाइतेहरूको अवस्था सामान्य रहेको र केही घरमा समेत क्षति पुगेको जनाइएको छ।
यसैबीच दुबईमा पनि हवाई अवरोधका क्रममा खसेका भग्नावशेषका कारण दुई वटा भवनमा क्षति पुगेको छ। तीमध्ये एक भवनमा अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनी ओरेकल कर्पोरेशनको कार्यालय रहेको बताइएको छ। स्थानीय प्रशासनका अनुसार आगलागी भए पनि मानवीय क्षति भने भएको छैन।
दुबई इन्टरनेट सिटीस्थित भवन र दुबई मरीना क्षेत्रमा रहेका संरचनामा सामान्य क्षति पुगेको जनाइएको छ।
यसअघि इरानको रिभोल्युसनरी गार्डले खाडी क्षेत्रमा रहेका अमेरिकी प्रविधि कम्पनीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो। फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्वयता इरानले ऊर्जा संरचना तथा नागरिक पूर्वाधारमा समेत आक्रमण गर्दै आएको आरोप लाग्दै आएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज खुला गर्न इरानलाई ४८ घण्टे चेतावनी दिएका छन्। इरानले भने उक्त चेतावनीलाई ‘असन्तुलित र मूर्खतापूर्ण’ भन्दै अस्वीकार गरेको छ।
युद्धका क्रममा इरानले अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ भने अमेरिकाले एक चालक दल सदस्यको उद्धार गरिएको जानकारी दिएको छ। अर्का सदस्यको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ।
तनाव बढ्दै जाँदा पाकिस्तानले युद्धविरामका लागि मध्यस्थता प्रयास जारी राखेको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल भइरहे पनि अवस्था अझै जटिल बन्दै गएको देखिएको छ।