काठमाडौं । विदेशबाट आयात गरिएको जुत्ता चप्पल र रेडिमेड कपडाको मूल्य बढ्न सक्ने भएको छ । भन्सार विभागले यी वस्तुको सन्दर्भ मूल्य बृद्धि गरेका कारण महंगो पर्न सक्ने देखिएको हो ।
भन्सार विभागले विदेशबाट आयात हुने जुत्ता चप्पल र रेडिमेट गार्मेन्टको सन्दर्भ मूल्य बढाएको विभागका सुचना अधिकारी पुन्यविक्रम खड्काले जानकारी दिए । जुत्ता चप्पमलमा नेपाल आत्मनिर्भर हुने चरणमा रहेको र नेपालमा उत्पादित यस्ता वस्तु गुणस्तरीय पनि देखिएको सन्दर्भ मूल्य बृद्धि गरेर स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गरिएको खड्काले बताए ।
भन्सार विभागको गोष्ठी सकिएको छ, गोष्ठीमा विभिन्न भन्सार कार्यालयहरुबाट विभिन्न प्रकारका सुझावहरु आएका थिए, त्यस्ता सुझावमध्ये सबै प्रकारका जुत्ता चप्पल र केही निश्चित प्रकारका रेडिमेड गार्मेन्टमा सन्दर्भ मूल्य बढाउनु पर्छ भन्ने पनि थियो, सोही सुझाव अनुसार यस्ता वस्तुको सन्दर्भ मूल्य बढाइएको छ,’ विभागका सुचना अधिकारी खड्काले विकासन्युजसँग भने ।
उनका अनुसार सबै प्रकारका जुत्ता चप्पलको सन्दर्भ मूल्य २० देखि ३० प्रतिशतसम्म बढाइएको छ । यस्तै, निश्चित प्रकारका रेडिमेट गार्मेन्टमा सन्दर्भ मूल्य १५ देखि २० प्रतिशतले बढाइएको छ । विभागले यसरी सन्दर्भ मूल्य बढाएपछि सोही अनुसार बजारमा उपभोक्ता मूल्य पनि बढ्न सक्ने सम्भावना रहन्छ ।
रेडिमेट गार्मेन्टमध्ये ज्याकेट, पाइन्ट, सर्ट, टिसर्ट जस्ता वस्तुहरुको सन्दर्भ मूल्य बढाइएको छ ।
ल्यापटप आयातमा कडाई
विभागले विद्युतीय सामाग्रीको आयातमा कडाई गर्ने भएको छ । पछिल्लो समय अनलाइन क्लास तथा वर्क फ्रम होम जस्ता कार्यको लागि ल्यापटप लगायतका सामानको माग उच्च भइरहेको बेलामा विभागले यस्ता वस्तुको आयातमा कडाई गर्न लागेको हो ।
बजारमा माग उच्च रहेको समयमा विदेशबाट कम गुणस्तरका सामान आयात गर्ने र मूल्य भने गुणस्तरीय सामानको सरह लिने गरेको गुनासो व्यापक मात्रामा आएपछि भन्सार विन्दुमै कडाई गर्न लागिएको विभागको भनाई छ ।

‘कोभिड महामारीपछि अनलाइन क्लास र वर्क फ्रम होम जस्ता कार्यको लागि ल्यापटप, मोबाइल जस्ता इलेक्ट्रोनिक्स सामाग्रीको माग उच्च देखिएको छ तर, विदेशबाट कम गुणस्तरका तथा पुराना सामान ल्याउने, पुराना र कम गुणस्तरका सामानको मूल्य पनि नयाँ र गुणस्तरीय सामानको जति नै लिने गरिएको पाइयो, त्यसैले यस्ता वस्तुको आयातमा कडाई गरेर भन्सार दर एकै प्रकारको लिन कार्यालयहरुलाई निर्देशन जारी भएको छ,’ विभागका सुचना अधिकारी खड्काले भने ।
पुराना र कम गुणस्तरका वस्तुको आयातमा पनि समान रकम भन्सार महसुल तिर्नुपर्ने भएपछि व्यापारीहरुले नयाँ र गुणस्तरीय सामान आयात गर्ने विश्वास भन्सार विभागको छ ।
आयातकर्तासँग थप कागजात मागिने
विभागले आयातमा एमआरपी (अधिकतम खुद्रा मुल्य) तोकिएर आउने वस्तुको लागि थप कागजपत्र माग गर्न सक्ने भएको छ । यस्ता वस्तुको मूल्य तय हुँदा थोक तथा खुद्रा जस्ता तहको लागि के कति नाफा राखेर मूल्य कायम गरिएको छ भन्ने जानकारी विभागले भन्सार विन्दुमै खोज्न सक्ने भएको छ ।
‘एमआरपी तोकिएर आउने वस्तुको सवालमा होलसेल तथा खुद्राको लागि कति नाफा राखिएको छ, नेपालमै एमआरपी तोकिने हो भने कसकसले के कति नाफा लिने हो भन्ने जस्ता थप विवरण भन्सार विन्दुमा माग हुन सक्छ, भन्सार विन्दुमा थप कागजात माग भयो भने पनि आयातकर्ताले त्यस्ता विवरण दिनुपर्ने पनि हुन सक्छ,’ सुचना अधिकारी खड्काले भने ।