कांग्रेस संसदीय दलको बैठक आज, नेता चयन प्रक्रिया अन्तिम चरणमा

१ हप्ता अगाडि
कांग्रेस संसदीय दलको बैठक आज, नेता चयन प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

कांग्रेस सांसद भरत खड्काका अनुसार दलको नेता सकेसम्म सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भइरहेको छ। तर, नेतृत्वका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र निस्कल राईलगायत नेताहरूको आकांक्षा देखिएकाले अन्तिम निर्णय सहमतिमा पुग्ने कि निर्वाचनमार्फत हुने भन्ने अझै खुल्न बाँकी छ।

यसअघि प्रतिनिधिसभामा सभामुख चयन नहुँदा संसदीय दलको नेता चयन प्रक्रिया ढिलाइ भएको थियो। अब भने सभामुख चयन भइसकेकाले कांग्रेसले आफ्नो आन्तरिक प्रक्रिया अघि बढाएको हो।

अन्य दलहरूले भने संसदीय दलको नेता चयन गरिसकेका छन्। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको कांग्रेसले भने अझै नेतृत्व टुंग्याउन सकेको छैन। संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने भएकाले पनि संसदीय दलको नेता चयनलाई कांग्रेसभित्र महत्वपूर्ण रूपमा हेरिएको छ।

कांग्रेसले दलको नेता चयनका लागि निर्वाचन समिति समेत गठन गरिसकेको छ। सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा रहेको उक्त समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्। समितिले चैत २४ गतेसम्ममा नेता चयन प्रक्रिया टुंग्याउने तयारी गरेको जनाएको छ।