मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ वटा भेडाच्याङ्ग्रा मरेका छन् भने सातवटा घाइते भएका छन्।
स्थानीय पशुपालक घ्याचो गुरुङको खोरमा शनिबार राति भएको आक्रमणमा १० च्याङ्ग्रा र ११ भेडा मरेको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। खोरभित्र करिब ३१५ वटा भेडाच्याङ्ग्रा राखिएको थियो।
घटनाको जानकारी पाएपछि एक्यापका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र स्थानीय तहका प्राविधिक टोलीले आइतबार बिहान घटनास्थल निरीक्षण गरेका थिए। प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ४ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
एक्यापका अनुसार खोर ग्याबिन तारले सुरक्षित गरिए पनि हिमचितुवाले भित्र पसेर आक्रमण गरेको हो। यस क्षेत्रमा हिमचितुवाको निगरानीका लागि सिसीक्यामेरा समेत जडान गरिएको छ।
यसअघि पनि मुस्ताङका विभिन्न स्थानमा यस्ता घटना दोहोरिँदै आएका छन्। फागुन महिनामा मात्रै लोमान्थाङ–४ किम्लिङ र घरपझोङ–२ मार्फामा भएका आक्रमणमा दर्जनौँ च्याङ्ग्रा मरेका थिए।
पछिल्लो समय मुस्ताङमा मानव र हिमचितुवाबीचको द्वन्द्व बढ्दै गएको देखिएको छ। जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा आहारा अभाव हुँदा हिमचितुवा बस्ती नजिक आउन थालेको विज्ञहरूको भनाइ छ।
वन्यजन्तु क्षति राहत निर्देशिकाअनुसार पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था भए पनि ढिलाइ हुने समस्या देखिएकाले एक्यापले आन्तरिक स्रोतबाट समेत राहत वितरण गर्दै आएको जनाएको छ।