काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै अस्पताल सेवामा समेत प्रभाव परेको छ। अब सरकारी अस्पतालमा शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार सरकारी निर्णयअनुसार अस्पतालमा पनि नयाँ व्यवस्था लागू गरिएको हो। मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले आकस्मिक सेवा भने पहिलेझैँ २४ घण्टा सञ्चालन हुने स्पष्ट पारेका छन्।
उनका अनुसार आइतबारदेखि ओपीडी लगायतका नियमित सेवा बन्द रहनेछन्। ‘अन्य सार्वजनिक बिदामा जस्तै आकस्मिक कक्ष खुला रहन्छ, तर ओपीडी सेवा बन्द हुन्छ,’ उनले बताए।
यो निर्णयसँगै विशेषगरी नियमित जाँच र उपचारका लागि अस्पताल पुग्ने बिरामीहरू मर्कामा पर्ने देखिएको छ। आइतबार सेवा बन्द हुँदा बिरामीको चाप अन्य दिनमा बढ्ने सम्भावना पनि रहेको छ।
मन्त्रालयले भने हाललाई सरकारी निर्णय कार्यान्वयनमा केन्द्रित रहेको र बिरामीमा पर्ने असरको मूल्याङ्कनपछि आवश्यक परे थप निर्णय लिन सकिने जनाएको छ।
यसैबीच सरकारले सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने समय तोकेको छ।