काठमाडौं । राजनीतिक दलहरुले मंगलबार बुझाएको समानुपातिक सूची संविधानको भावना विपरित देखिएको छ । दलका नेता निकट र परिवारका सदस्यले नै फेरि मौका पाएका छन् ।
नेपाली कांग्रेसले यसअघि अवसर पाएकालाई नसमेट्ने नीति लिए पनि नेता विशेषका नातेदार र आफन्तलाई सूचीमा समेटेको छ । यस्तो सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, विमलेन्द्र निधिकी भाञ्जी निनु कर्णदेखि बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीसम्म अटाएका छन् । महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसी लगायत छन् ।
यता नेकपाले आयोगमा बुझाएको ११० जनाको बन्द सूचीमा अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंहदेखि चेपाङ समुदायका मंगल सिं प्रजासम्म छन् । सिंह कक्षा ५ मा पढ्दादेखि क्रान्तिकारीमा संगठित भएकी थिइन् । उनी अहिलेसम्म लाभको पद नपाउने युवानेतामा पर्छिन् । प्रजा पनि माओवादीको जनमुक्ति सेना हुन् । उनी पूर्वमाओवादीबाट समानुपातिक सूचीमा परेका हुन् । सूचीमा सहकारी ठगीका आरोपी पनि अटाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो नेपाल पार्टीका १४ जनाले स्थान पाएका छन् । समानुपातिक उम्मेदवारहरुको छनोट पार्टीका संरक्षण कुलमान घिसिङले आफ्नो एकल तजबिजमा गरेको पाइएको छ । सूचीमा परेकामध्ये ४ जना पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङका आफन्त र निकटस्थ रहेको पाइएको छ । आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका राम लामा कुलमानका भान्जा पर्छन् ।
राम र उनका भाइ लक्ष्मण कुलमानका तर्फबाट नेगोसिएसनमा पनि संलग्न थिए । त्यस्तै सभापति रवि लामिछानेले आफ्ना व्यापारिक साझेदार विपिन आचार्यदेखि आफू मन्त्री हुँदा स्वकीय सचिवालयमा रहेकी प्रतिभा रावलसम्मलाई समानुपातिकको पहिलो नम्बरको बन्दसूचीमा राखेका छन् । प्राइमरी इलेक्सनमा धेरै मत ल्याउनेलाई पछाडि पारिएको छ । त्यस्तै एमालेले पुराना शक्तिमै हालिमुहाली गरेकालाई प्रथमिकता दिएको छ ।