काठमाडौं । कम्बोडियामा अलपत्र परेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहकार्यमा उनीहरूलाई स्वदेश फर्काएको हो।
दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोसम्बन्धी ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो।
दूतावासले अझै पनि केही नेपाली त्यहाँ अलपत्र अवस्थामा रहेको सूचना प्राप्त भएको जनाएको छ। उनीहरूको पहिचान गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको दूतावासले स्पष्ट पारेको छ।
जारी विज्ञप्तिअनुसार स्क्यामिङ केन्द्रहरूमा काम गराइएकामध्ये धेरैको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराउने गरेको गुनासो आएको छ। यस्ता अवस्थामा नेपाल फर्कन चाहनेलाई दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ।
दूतावासले वैदेशिक रोजगारीमा जानुअघि नेपाल सरकारले तोकेका प्रक्रिया र मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै विदेश जान नागरिकलाई आग्रह गरेको छ।