सेयर बजारमा अनावश्यक हल्ला, अर्थमन्त्री भन्छन्-आत्तिनु पर्दैन

१ हप्ता अगाडि
सेयर बजारमा अनावश्यक हल्ला, अर्थमन्त्री भन्छन्-आत्तिनु पर्दैन

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्।

आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीसँगको भेटमा उनले सरकारको लक्ष्य लगानीकर्तालाई डराउने नभई बजारलाई व्यवस्थित र पारदर्शी बनाउने रहेको स्पष्ट पारे। ‘अनैतिक काम गर्नेमाथि मात्र कानुनबमोजिम कारबाही हुन्छ, सबै लगानीकर्तालाई लक्षित गरिएको होइन,’ उनले भने।

उनका अनुसार नेपालको सेयर बजार अन्य क्षेत्रको तुलनामा अझ व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा आउने व्यवस्था र कारोबारको निगरानी गर्न सकिने प्रणालीले बजारलाई विश्वसनीय बनाएको उनले उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा विकास गर्ने योजना सरकारको रहेको बताए। तर इन्साइडर ट्रेडिङ, मूल्य हेरफेरजस्ता गतिविधि भए कानुनअनुसार कडा कारबाही हुने उनले चेतावनी दिए।

उनले लगानीकर्तालाई तत्काल ‘प्यानिक’ हुनुपर्ने अवस्था नरहेको बताउँदै आगामी दिनमा बजार सुधारका लागि थप कदम चालिने जानकारी दिए। नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययनपछि आवश्यक सुधार अघि बढाइने उनको भनाइ छ।

साथै, उनले मुलुकलाई ग्रे लिस्ट बाट बाहिर ल्याउने काम सरकारको प्राथमिकतामा रहेको बताए। सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधमा पनि प्रमाणका आधारमा मात्रै अनुसन्धान अघि बढाइने स्पष्ट पारे।

अर्थमन्त्रीले खुला बजार अर्थनीति अपनाइएको उल्लेख गर्दै कानुनविपरीत काम गर्नेलाई मात्रै कारबाही गरिने र कसैलाई लक्षित गरेर कदम नचालिने बताए।