लेखापढी व्यवसायीमाथि धरपकडको विरोध, देशभर पेन डाउन आन्दोलन घोषणा

१ हप्ता अगाडि
लेखापढी व्यवसायीमाथि धरपकडको विरोध, देशभर पेन डाउन आन्दोलन घोषणा

ललितपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाईले व्यवसायीमाथि भएको प्रहरी धरपकडको विरोध गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ।

एशोसिएशनले विज्ञप्ति जारी गर्दै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरको सन्दर्भमा आधारविहीन रूपमा ‘बिचौलिया’ आरोप लगाएर व्यवसायीहरूलाई पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाएको हो।

गत चैत २२ गते मालपोत कार्यालयमा कार्यरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जावलाखेलस्थित प्रहरी परिसर पुर्‍याएको थियो।

कानुनी रूपमा दर्ता भएर सञ्चालनमा रहेका भू–सेवा केन्द्रका सञ्चालक तथा लेखापढी व्यवसायीलाई अपराधीझैँ व्यवहार गरिएको भन्दै एशोसिएशनले यसलाई पेशागत मर्यादा र संवैधानिक अधिकारमाथिको आघात भनेको छ।

समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफूहरू कानुनी प्रक्रिया अनुसार सेवा दिँदै आएको उल्लेख गरिएको छ।

विरोधस्वरूप देशभरका व्यवसायीले अर्को निर्णय नभएसम्म ‘पेन डाउन’ गर्ने घोषणा गरेका छन्। यस अवधिमा सेवा लुकिछिपी सञ्चालन गरेमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

एशोसिएशनले राज्य पक्षबाट भएको व्यवहार सच्याएर निर्वाध रूपमा पेशा सञ्चालन गर्ने वातावरण नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ।