कोप–३१

१.५ डिग्री तापक्रम वृद्धिको सीमा जोगाउन वार्षिक ६ प्रतिशत उत्सर्जन कटौती गर्नुपर्ने : गुटेरेस

१० मिनेट अगाडि
१.५ डिग्री तापक्रम वृद्धिको सीमा जोगाउन वार्षिक ६ प्रतिशत उत्सर्जन कटौती गर्नुपर्ने : गुटेरेस

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्न आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् ।

विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था देखिए पनि त्यसको अवधि छोटो बनाउन र प्रभाव न्यून गर्न तत्काल तथा व्यापक रूपमा उत्सर्जन कटौती गर्नुपर्ने उनको भनाइ छ ।

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को अन्तिम पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि विश्व समुदायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) अन्तर्गत विभिन्न देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले औँल्याए ।

“हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो”, उनले भने ।

तापक्रम वृद्धिको सीमा अस्थायी रूपमा पार हुँदा पनि त्यसले अहिले देखिइरहेका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने गुटेरेसको भनाइ छ । यस्तो अवस्थामा जलवायु न्यायको मुद्दा अझ महत्त्वपूर्ण हुने उनले बताए ।

उनले विशेषगरी विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्न थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गरे ।

जलवायु संकटमा कम योगदान गरेका तर त्यसको सबैभन्दा बढी असर भोगिरहेका विकासशील मुलुकलाई सहयोग गर्नु विकसित देशको दायित्व भएको उनको भनाइ छ । गुटेरेसले विगतका कोप सम्मेलनमा विकसित देशले गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न पनि जोड दिएका छन् ।