काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि पुसको दोस्रो साता राष्ट्रिय भेला बोलाउने तयारी गरेका छन् ।
महामन्त्री निकटस्रोतका अनुसार पुस १९/२० वा २१ गते भेला बोलाउने तयारी रहेकोछ । महामन्त्रीहरुले पत्र नै काटेर विशेष महाधिवेशन पक्षधरलाई भेलामा बोलाउन लागेका हुन् ।
सभापति शेरबहादुर देउवा र उनी निकटका नेताहरुले नियमित महाधिवेशन गर्न पनि नदिने विशेष महाधिवेशन पनि हुन नदिनेभएपछि राष्ट्रिय भेला बोलाउने रणनीतिमा महामन्त्रीहरु लागेको उनीहरु निकट नेताले बताएका छन् । महामन्त्री थापाले कानूनव्यवसायीसँग परामर्श थालेका छन् ।
भेला केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने तयारी भइरहेको छ । यसैबीच महामन्त्री थापा निकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेन्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित कांग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्ने लगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका हुन् ।
उता, सभापति देउवाले चुनावको मुखमा महाधिवेशन सम्भव नहुने बताइसकेका छन् । उनले विशेष वा नियमित महाधिवेशनमा नजान सुझाव दिएको भन्दै चुनावमा केन्द्रित हुन भनेका छन् । तर, गर्ने नै भए आफूले कार्यवाहक जिम्मा दिएकाले जे गरेपनि हुने भनेका छन् ।