काठमाडौं । सोमबार नेपाली सेयरबजारमा उल्लेखनीय सुधार देखिएको छ। लामो समयदेखि ओरालो लागिरहेको बजारमा अर्थमन्त्रीको सकारात्मक संकेतपछि लगानीकर्ताको आत्मविश्वास फर्किँदा नेप्से परिसूचक उकालो लागेको हो।
सोमबार नेप्से ८३.३३ अंकले वृद्धि हुँदै २७६०.०२ विन्दुमा पुगेको छ, जुन ३.११ प्रतिशतको वृद्धि हो। बजारमा दिनभरि उत्साहजनक कारोबार हुँदा कुल १० अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान स्टक ब्रोकरहरूसँग गरेको छलफलमा बजार सुधारका लागि सरकार सकारात्मक रहेको र अनावश्यक धरपकड नगर्ने स्पष्ट संकेत दिएका थिए। पछिल्लो समय सरकारको नीतिप्रति असन्तुष्टि जनाइरहेका लगानीकर्ताले यसलाई राहतका रूपमा लिएका छन्।
कारोबारका क्रममा २६४ कम्पनीको सेयर मूल्य बढ्दा केवल ३ कम्पनीको घटेको छ भने एक कम्पनी स्थिर रहेको छ। बजारमा व्यापक हरियाली देखिँदा अधिकांश समूहमा वृद्धि भएको छ, विशेषगरी फाइनान्स र जलविद्युत् समूहले उच्च वृद्धि दर्ज गरेका छन्।
यस दिन उपकार लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावर र नेशनल हाइड्रोका सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रो पनि करिब १० प्रतिशत नजिक बढेको छ। बजारमा गिरावट हुने कम्पनीको संख्या न्यून देखिनु लगानीकर्ताको मनोबल उच्च रहेको संकेत हो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको मात्रै १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, अपि पावर र रिडी पावर उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
समग्रमा, अर्थमन्त्रीको आश्वासनले बजारमा सकारात्मक सन्देश प्रवाह हुँदा सेयरबजारमा एकैदिन ठूलो उछाल देखिएको विश्लेषण गरिएको छ।