काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको संसदीय दलको नेता सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही दिनभित्रै दलको नेता टुंगो लाग्ने बताए। “भोलि संसदीय दलको बैठक बस्दैछ, दुई–तीन दिनमै सहमतिमा निष्कर्ष निकाल्छौँ,” उनले भने।
केसीले आफू पनि स्वाभाविक दाबेदार भएको संकेत गरे पनि प्रतिस्पर्धाभन्दा सहमतिलाई प्राथमिकता दिने स्पष्ट पारे। उनका अनुसार अहिले कसले नेतृत्व लिने भन्नेभन्दा पनि आपसी समझदारीमा निष्कर्षमा पुग्ने प्रयास भइरहेको छ।
यसैबीच, उनले आफ्नो नामलाई गगन थापा सँग जोडेर आलोचना गरिनु अनुचित भएको बताए। “गगन थापाको आफ्नै पहिचान र क्षमता छ, म पनि लामो समयदेखि राजनीतिमा सक्रिय छु। हामीबीचको सम्बन्धलाई अनावश्यक रूपमा जोडेर व्याख्या गर्नुपर्ने आवश्यकता छैन,” उनले प्रतिक्रिया दिए।
कांग्रेसभित्र दलको नेता चयनलाई लिएर आन्तरिक छलफल तीव्र बनिरहेका बेला केसीको यस्तो धारणा सार्वजनिक भएको हो।