हेटौंडा, चैत २३ — बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्यमन्त्री पदमा आलोपालो गर्ने सहमतिबारे आफू अनभिज्ञ रहेको बताएका छन्।
सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार अन्तरसंवादमा उनले उक्त विषयमा पार्टी नेतृत्वसमेत जानकार नभएको दाबी गरे। “भागबण्डाको कुरा मलाई थाहा छैन, यहाँ रहेका कांग्रेस र एमालेका मन्त्रीहरूलाई पनि जानकारी छैन,” उनले भने।
एमालेले विगतको सहमति अनुसार नेतृत्व हस्तान्तरण हुनुपर्ने विषय उठाउँदै आएको सन्दर्भमा मुख्यमन्त्री बानियाँको यस्तो अभिव्यक्ति आएको हो।
गत वर्ष संयुक्त सरकार गठन हुँदा कांग्रेस र एमालेबीच मुख्यमन्त्री पद २०–२० महिनाका लागि आलोपालो गर्ने समझदारी भएको बताइन्छ। सोही अनुसार एमालेको समर्थनमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बनेका थिए।
तर, पछि कांग्रेसभित्र शक्ति सन्तुलन बदलिँदा बानियाँले आफ्नै पार्टीका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै सत्ता परिवर्तन गरेका थिए। उक्त प्रस्ताव पारित भएपछि लामाले पद गुमाएका थिए र त्यसपछि बानियाँ मुख्यमन्त्री बनेका हुन्।
एमालेका नेता जगन्नाथ थपलियाले भने पूर्वसहमति अनुसार नेतृत्व हस्तान्तरण हुनुपर्ने माग राख्दै आएका छन्।
बागमती प्रदेशको राजनीतिमा शक्ति समीकरण फेरबदल भइरहँदा नेतृत्व हस्तान्तरणको विषय फेरि बहसमा आएको छ।