काठमाडौं । लेखापढी व्यवसायीहरूले सुरु गरेको ‘पेन डाउन’ आन्दोलनका कारण देशभरका मालपोत कार्यालयहरूको सेवा प्रभावित भएको छ। प्रशासनले केही व्यक्तिलाई ‘बिचौलिया’ भन्दै धरपकड थालेपछि त्यसको विरोधमा व्यवसायीहरूले काम रोकेका हुन्।
अनलाइन प्रणालीमार्फत हुने कामसमेत बन्द गरिएको छ। मालपोतसम्बन्धी सेवाका लागि प्रयोग हुने भू–सेवा आईडी प्रणालीमा तथ्याङ्क प्रविष्टि रोकिएपछि जग्गा किनबेच, नामसारी लगायतका काम पूर्ण रूपमा ठप्प भएका छन्।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका पदाधिकारीहरूका अनुसार मालपोतसम्बन्धी अधिकांश प्रक्रिया सुरु नै अनलाइन फाराम भर्ने र कागजात तयार गर्ने कामबाट हुने भएकाले त्यो चरण रोकिँदा सम्पूर्ण सेवा प्रभावित भएको हो।