इरान–अमेरिका युद्धविराम, होर्मुज स्ट्रेट खुल्ने- तेल संकट समाधान हाेला ?

१ हप्ता अगाडि
इरान–अमेरिका युद्धविराम, होर्मुज स्ट्रेट खुल्ने- तेल संकट समाधान हाेला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन् । उनका अनुसार इरानले होर्मुज स्ट्रेट तुरुन्त खुला गर्ने सर्तमा बम आक्रमण र सैन्य गतिविधि स्थगित गर्ने सहमति भएको हो । उनले यो जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिर को पहलपछि युद्धविराम सम्भव भएको हो । इरानबाट आएको १० बुँदे प्रस्तावमा दुवै पक्षबीचका विवादित विषयमा सहमति जुटेको र कार्यान्वयनका लागि थप समय आवश्यक पर्ने बताइएको छ।

इरानले पनि युद्धविरामको पुष्टि गर्दै आगामी वार्ता इस्लामाबादमा हुने जनाएको छ। इरानले यस अवधिमा होर्मुज स्ट्रेट खुला राख्ने र नागरिकलाई राष्ट्रिय एकता कायम गर्न आह्वान गरेको छ। मेहर समाचार एजेन्सीका अनुसार पाकिस्तानको मध्यस्थतामा भएको उक्त सहमति इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अनुमोदन गरेका छन्। इरानले यसलाई आफ्नो सफलताका रूपमा प्रस्तुत गरेको छ।

यसैबीच इजरायल पनि दुई हप्ताको युद्धविराममा सहमत भएको बताइएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गरेपछि द्वन्द्व चर्किएको थियो। उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित शीर्ष तहका अधिकारीहरू मारिएको दाबी गरिएको छ।

त्यसयता इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गर्दै आएको थियो, जसका कारण द्वन्द्व क्षेत्रीय रूपमा फैलिएको थियो।

मृत्युको विवरण (हालसम्म)

युद्धका कारण विभिन्न देशमा गरी ५ हजारभन्दा बढीको ज्यान गएको बताइएको छ :
इरान: ३,५१९ (कम्तीमा १,५९८ सर्वसाधारण, २४४ बालबालिका)
लेबनन: १,३१८ (१२४ बालबालिका सहित)
इराक: १०७ भन्दा बढी
इजरायल: १९
अमेरिका: १३

युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न आगामी दुई हप्तामा थप वार्ता गरिनेछ। विशेषगरी इस्लामाबादमा हुने वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ।