सार्वजनिक यातायातकाे भाडा बढ्ने निश्चित, आजबाट लागू गर्ने तयारी

१ हप्ता अगाडि
सार्वजनिक यातायातकाे भाडा बढ्ने निश्चित, आजबाट लागू गर्ने तयारी

काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल ले विभागको प्रस्ताव स्वीकृत गरेसँगै भाडा समायोजन हुने भएको हो ।

मन्त्रालय स्रोतका अनुसार भाडा समायोजनसम्बन्धी फाइल पारित भइसकेको छ र नयाँ दर आजदेखि लागू गर्ने तयारी गरिएको छ। यद्यपि कति प्रतिशतले वृद्धि हुने भन्ने आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।

यातायात व्यवस्था विभागले वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजनको प्रस्ताव अघि सारेको थियो। उक्त प्रणालीअनुसार भाडा निर्धारणमा पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र अन्य १३ शीर्षक (जस्तै– बिमा, बैंक ब्याज, सवारी पार्टपुर्जा, टायर, लुब्रिकेन्ट आदि) लाई ६५ प्रतिशत भार दिइन्छ।

यसैगरी, इन्धनको मूल्यमा ५ प्रतिशत परिवर्तन हुँदा स्वचालित रूपमा भाडा समायोजन हुनुपर्ने व्यवस्था भए पनि पछिल्लो १५ महिनादेखि यस्तो प्रणाली कार्यान्वयन हुन सकेको छैन।

विभागका अनुसार हालको मूल्यवृद्धि र सूचकका आधारमा सवारी भाडा करिब १६ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघि २०८१ पुस २२ गते अन्तिम पटक भाडा समायोजन गरिएको थियो। त्यतिबेला पनि मन्त्रालयको निर्णयमार्फत नै भाडा बढाइएको थियो।

गत चैत महिनामा मात्रै डिजेलको मूल्य ४० रुपैयाँले बढिसकेको छ। नेपाल आयल निगम ले चैत ११ र १९ गते दुईपटक गरी प्रति लिटर ३० रुपैयाँ वृद्धि गरेको थियो भने यसअघि पनि मूल्य बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु यसको मुख्य कारण मानिएको छ। विशेषगरी अमेरिका, इजरायल र इरान बीचको तनावका कारण हर्मुज घाँटी क्षेत्रमा अवरोध सिर्जना हुँदा तेल आपूर्ति प्रभावित भएको छ।

यातायात व्यवसायीहरूले भने बढ्दो लागतका कारण भाडा समायोजन अनिवार्य भएको बताएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ का वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ले इन्धनको मूल्यअनुसार भाडा स्वतः घटबढ हुने प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताएका छन्।

उनका अनुसार वैज्ञानिक प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएमा भाडा समायोजनका लागि पटक–पटक सरकारी निर्णय कुर्नुपर्ने अवस्था हट्नेछ।