काठमाडौँ । गगन थापा आज मधेस प्रदेशतर्फ प्रस्थान गर्दै छन्। नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न प्रदेशस्तरीय कार्यक्रम सुरु गरेको हो।
पार्टीले अपेक्षा अनुसार परिणाम हासिल गर्न नसकेको निष्कर्षपछि समीक्षा अभियान अघि बढाइएको हो। यसै क्रममा मधेस प्रदेशको राजधानी जनकपुरमा पहिलो कार्यक्रम तय गरिएको छ, जहाँ थापाको प्रत्यक्ष सहभागिता रहनेछ।
गत फागुन २१ गते भएको निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा अमरेशकुमार सिंह सँग पराजित भएका थिए। त्यसपछि उनी पहिलोपटक मधेस क्षेत्रमा जान लागेका हुन्। कार्यक्रमपछि उनी सर्लाही–४ क्षेत्रमै पुग्ने कार्यतालिका छ।
पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार समीक्षा कार्यक्रममा प्रदेश तथा जिल्लास्तरका नेता, उम्मेदवार र कार्यकर्ताहरूको सहभागिता रहनेछ। यसले चुनावी परिणामका कारण र आगामी रणनीतिबारे छलफल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कांग्रेसले मधेसपछि अन्य प्रदेशहरूमा पनि यस्तै समीक्षा कार्यक्रम तय गरेको छ। आगामी दिनमा पोखरा, बुटवल, सुर्खेत, धनगढी, हेटौंडा र विराटनगरमा समेत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
पार्टीले यस अभियानमार्फत संगठन सुदृढीकरण र आगामी निर्वाचनका लागि रणनीति तयार पार्ने लक्ष्य राखेको जनाएको छ।