इरान–अमेरिका युद्धविरामः ‘विजय’ दाबी गर्दै इरानका १० सर्त सार्वजनिक

१ हप्ता अगाडि
इरान–अमेरिका युद्धविरामः ‘विजय’ दाबी गर्दै इरानका १० सर्त सार्वजनिक

काठमाडौँ । इरान र संयुक्त राज्य अमेरिका बीच दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएपछि त्यसका सर्तहरू सार्वजनिक भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेका हुन् भने इरानले पनि सहमति पुष्टि गर्दै यसलाई आफ्नो ‘विजय’ का रूपमा प्रस्तुत गरेको छ।

पाकिस्तानको मध्यस्थतामा भएको सहमतिअनुसार इरानले अमेरिकासमक्ष दशबुँदे प्रस्ताव राखेको दाबी गरिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना सर्तहरू स्वीकार गरिएकै कारण युद्धविराम सम्भव भएको भन्दै यसलाई राष्ट्रिय सफलता भनेको छ।

इरानका प्रमुख १० सर्त

१. आक्रमण पूर्ण रूपमा अन्त्य
अमेरिका र इजरायलबाट हुने सबै सैन्य कारबाही तुरुन्त बन्द गर्नुपर्ने।

२. आर्थिक प्रतिबन्ध हटाउने
इरानमाथि लगाइएका सबै प्रकारका प्रतिबन्ध हटाइनुपर्ने।

३. जफत सम्पत्ति फिर्ता
विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति र कोष फिर्ता गर्नुपर्ने।

४. युद्धको स्थायी अन्त्य
अस्थायी युद्धविराम मात्र होइन, दीर्घकालीन रूपमा द्वन्द्व अन्त्य गर्नुपर्ने।

५. अमेरिकी सेना फिर्ता
मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य उपस्थिति हटाइनुपर्ने।

६. क्षतिपूर्ति व्यवस्था
युद्धका कारण भएको क्षतिको आर्थिक क्षतिपूर्ति वा पुनर्निर्माण सहयोग उपलब्ध गरिनुपर्ने।

७. होर्मुज जलडमरूमाथि नियन्त्रण
होर्मुज जलडमरूमा इरानको नियन्त्रण सुनिश्चित गर्नुपर्ने।

८. सुरक्षित आवतजावत (समन्वयसहित)
जलडमरू हुँदै जहाज आवतजावत गर्न पाउने तर इरानी सुरक्षासँग समन्वय गर्नुपर्ने।

९. जहाजमार्फत शुल्क असुली
जलडमरू प्रयोग गर्ने प्रत्येक जहाजबाट शुल्क उठाउने प्रस्ताव, जसलाई ओमान सँग बाँडफाँड गर्ने योजना।

१०. क्षेत्रीय द्वन्द्व अन्त्य
हिजबुल्लाह विरुद्धका कारबाहीसहित क्षेत्रीय स्तरका अन्य सैन्य गतिविधि पनि रोक्नुपर्ने।

थप वार्ता इस्लामाबादमा

युद्धविराम प्रक्रियालाई स्थायित्व दिन आगामी अप्रिल १० मा इस्लामाबादमा थप वार्ता हुने बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षलाई वार्ताका लागि आमन्त्रण गर्दै दिगो शान्तिको आशा व्यक्त गरेका छन्।

इजरायलको सर्तसहित समर्थन

उता इजरायलले पनि युद्धविरामलाई समर्थन जनाएको छ। तर उसले लेबनानमा यो सहमति लागू नहुने स्पष्ट पारेको छ। साथै इरानले आणविक हतियार तथा आक्रमणकारी गतिविधि रोक्नुपर्ने सर्त राख्दै अमेरिकाको प्रयासलाई समर्थन गर्ने जनाएको छ।

युद्धविरामपछि मध्यपूर्वमा तनाव केही कम हुने अपेक्षा गरिए पनि स्थायी समाधानका लागि आगामी वार्ताको नतिजा निर्णायक हुने देखिएको छ।