काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालतर्फबाट अर्को वर्षा गराउने मौसमी प्रणाली प्रवेश गरेको जानकारी दिएको छ। बुधबार दिउँसो जारी गरिएको अद्यावधिक सूचनामा अहिले उक्त प्रणालीका कारण विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार पश्चिम क्षेत्रबाट आएकोयो प्रणाली विस्तार हुँदै गइरहेको छ, जसका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ। अन्य प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्था छ।
मौसमविद्का अनुसार यो प्रणाली अझै सक्रिय रहने भएकाले दिउँसोपछि र साँझतिर वर्षा थप फैलिन सक्ने सम्भावना रहेको छ। विशेषगरी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस मौसमी गतिविधिका कारण दैनिक जनजीवन, सडक यातायात र हवाई उडानमा सामान्य असर पर्न सक्ने देखिएको छ। मौसम प्रतिकूल हुने संकेतसँगै आवश्यक तयारी र सावधानी अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ।