सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि

१ हप्ता अगाडि
सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।

विभागका अनुसार वैज्ञानिक आधारमा भाडा समायोजन गरिएको जनाइएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा इन्धन महँगिएको प्रभाव यातायात क्षेत्रमा पनि परेको बताइएको छ। यसअघि नै व्यवसायीहरूले भाडा बढाउन दबाब दिँदै आएका थिए।

नयाँ समायोजनअनुसार यात्रुवाहक सवारीको भाडा करिब १६.७१ प्रतिशतले बढेको छ। यस्तै, मालवाहक सवारीतर्फ तराई क्षेत्रमा १५.७५ प्रतिशत र पहाडी क्षेत्रमा २१.६८ प्रतिशतसम्म भाडा वृद्धि गरिएको विभागले जनाएको छ।

भाडा वृद्धि भएसँगै यात्रुहरू थप आर्थिक भारमा पर्ने भएका छन् भने यातायात व्यवसायीहरूले भने बढ्दो लागत व्यवस्थापनमा यसले केही राहत मिल्ने अपेक्षा गरेका छन्।