देशभर वर्षा जारी, तत्काल सुधारको सम्भावना कम

१ हप्ता अगाडि
देशभर वर्षा जारी, तत्काल सुधारको सम्भावना कम

काठमाडौँ । देशका अधिकांश क्षेत्रमा यतिबेला वर्षा भइरहेकाे छ। पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई वर्षा सक्रिय बनेको हो।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा पनि पानी परिरहेको छ। केही ठाउँमा मौसम अझ सक्रिय देखिएको छ।

मधेश प्रदेशका सीमित स्थानमा भने मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद्हरूले जनाएका छन्। प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि स्वाभाविक भए पनि सतर्कता आवश्यक रहेको बताइएको छ।

मौसम पूर्वानुमानअनुसार तत्काल मौसम खुल्ने संकेत देखिएको छैन। भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना छ। यस्तै, कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्छ।

मधेश प्रदेशमा भने केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ। मौसममा सुधार आउन अझ केही समय लाग्ने देखिएको छ।