काठमाडौँ । अमेरिका–इरानबीच हालै भएको युद्धविरामपछि पनि लेबनानमा इजरायलले आक्रमण जारी राखेपछि पुन: हाेर्मुज स्टेट बन्द गरिएकाे छ । इजरायलले लेबननका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ।
बुधबार भएको उक्त हमलामा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन्। समाचार एजेन्सी एपीका अनुसार इजरायलको आक्रमणपछि इरान ले रणनीतिक जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ, जसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ।
लेबननी नागरिक रक्षा टोलीका अनुसार राजधानी बेरुतसहित बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायर क्षेत्रमा भीषण बमबारी गरिएको हो। आक्रमणपछि ती क्षेत्रहरूमा ठूलो जनधनको क्षति भएको र उद्धार कार्य जारी रहेको जनाइएको छ।
यसअघि लडाकु समूह हिज्बुल्लाहले लेबननमा युद्धविराम लागू नभए सम्झौता तोडिने चेतावनी दिएको थियो। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भएको युद्धविराममा हिज्बुल्लाह समावेश नभएको स्पष्ट पारेका छन्।
तर इरानले प्रस्तुत गरेको दशबुँदे प्रस्तावमा भने हिज्बुल्लाहमाथि आक्रमण रोक्नुपर्ने शर्त उल्लेख गरिएको थियो। यसबीच इजरायलले भने हिज्बुल्लाहविरुद्धको सैन्य कारबाही नरोकिने अडान दोहोर्याएको छ।
करिब ४० दिन लामो तनावपछि मंगलबार राति अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराममा सहमति भएको थियो। तर त्यसको भोलिपल्टै लेबननमा आक्रमण भएपछि युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले शुक्रबार पाकिस्तान को राजधानी इस्लामाबादमा इरान र अमेरिकाका प्रतिनिधिबीच थप वार्ता हुने जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत सबै पक्षलाई वार्तामा सहभागी हुन आह्वान गरेका छन्।