आज वर्षा र हिमपातको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी

१ हप्ता अगाडि
आज वर्षा र हिमपातको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी

काठमाडौं। देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। कोसी प्रदेशका साथै अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशका केही स्थानहरूमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

राति भने कोसी प्रदेशसहित हिमाली भू–भागमा सामान्य बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। गण्डकी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।