काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको रोमाञ्चक क्वाटरफाइनल भिडन्तमा एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई उसैको मैदानमा २–० ले पराजित गरेको छ। नोउ क्याम्पमा दुई दशक लामो जितविहीन यात्रालाई अन्त्य गर्दै एथ्लेटिकोले सेमिफाइनल प्रवेशको सम्भावनालाई निकै बलियो बनाएको हो।
एथ्लेटिकोको जितका नायक जुलियन अल्भारेज र अलेक्जेन्डर सोर्लोथ बने। सुरुआती समयमा बार्सिलोनाले खेल नियन्त्रणमा लिए पनि पहिलो हाफको अन्त्यतिर भएको एक रातो कार्डको घटनाले खेलको नतिजा नै उल्ट्याइदियो।
खेलको ३९ औं मिनेटमा बार्सिलोनाका युवा डिफेन्डर पाउ कुबार्सीले जुलियानो सिम्योनीलाई लडाएपछि रेफ्रीले भिएआरको सहयोगमा उनलाई सिधै रातो कार्ड देखाएका थिए। १० खेलाडीमा सीमित भएको बार्सिलोनाविरुद्ध सोही फ्री–किकमा जुलियन अल्भारेजले आकर्षक गोल गर्दै एथ्लेटिकोलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा एक खेलाडी कम भए पनि बार्सिलोनाले लगातार आक्रमण बुनेको थियो। मार्कस रासफोर्डको प्रहार क्रसबारमा ठोकिनु र २४ पटक गोलको प्रयास गर्दा पनि सफल नहुनु बार्सिलोनाका लागि दुर्भाग्यपूर्ण रह्यो। खेल सकिनै लाग्दा एथ्लेटिकोले काउन्टर अट्याकमार्फत अर्को गोल थप्यो। माटेओ रुगेरीको पासमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै टोलीको २–० को जित सुनिश्चित गरे।
लगातार आठ खेलसम्म अपराजित रहेको बार्सिलोनाका लागि यो हारले गम्भीर धक्का पुर्याएको छ। अब अर्को मंगलबार एथ्लेटिकोको मैदान म्याड्रिडमा हुने दोस्रो लेगमा बार्सिलोनाले ठूलो गोल अन्तरको जित निकाल्नुपर्ने चुनौती छ। यसअघि पनि च्याम्पियन्स लिगमा एथ्लेटिकोले बार्सिलोनालाई दुई पटक प्रतियोगिताबाट बाहिर गरिसकेको छ।