उपसभामुख चयन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

१ हप्ता अगाडि
उपसभामुख चयन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा प्रकाशित सूचनामा आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली दर्ता क्रमअनुसार सार्वजनिक गरिने उल्लेख छ।

निर्वाचन प्रक्रिया अन्तर्गत चैत २७ गते उपसभामुख चयनका लागि मतदान हुनेछ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसपछि छलफल र निर्णय हुनेछ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तय गर्दै कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन्। यद्यपि प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाउने उम्मेदवारको जित सुनिश्चित हुने आकलन गरिएको छ। हालसम्म उक्त पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारे आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।