काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बनकसवासास्थित सडक खण्डमा गएराति भएको उक्त दुर्घटनामा भे१ख ४३७३ नम्बरको बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनापछि तत्कालै प्रहरी टोली खटिएर यात्रुको उद्धार गरिएको थियो। घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको छ।
घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको आधारभूत अस्पतालमा उपचार जारी छ। अन्य ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानमा सडक अवस्था, चालकको लापरवाही वा यान्त्रिक समस्या कारण हुन सक्ने भए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस दुर्घटनाले लामो दूरीका सार्वजनिक सवारी साधनको सुरक्षाप्रति फेरि प्रश्न उठाएको छ। यात्रु सुरक्षाका लागि कडा निगरानी र मापदण्ड पालनामा जोड दिनुपर्ने आवश्यकता देखिएको छ।