महाधिवेशन तालिका विवाद: कांग्रेस देउवा पक्षको पूरक निवेदन, आज सर्वोच्चमा सुनुवाइ

१ हप्ता अगाडि
महाधिवेशन तालिका विवाद: कांग्रेस देउवा पक्षको पूरक निवेदन, आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद थप चर्किँदै जाँदा संस्थापन (देउवा) पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ। उक्त निवेदनमाथि आज (शुक्रबार) प्रारम्भिक सुनुवाइ हुँदैछ।

देउवा पक्षले पार्टीको आधिकारिकता टुंगो नलागेसम्म १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गरेको हो। यसअघि नै निर्वाचन आयोगले गगन थापा र विश्वप्रकाश शर्मा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध पनि सोही पक्ष अदालत पुगेको थियो।

मुद्दा विचाराधीन रहेको अवस्थामा अर्को पक्षले एकतर्फी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनु गलत भएको जिकिर निवेदनमा गरिएको छ। विशेष महाधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिले आगामी असोज १६–१९ का लागि महाधिवेशन घोषणा गर्दै वैशाख १ देखि सदस्यता अभियान सञ्चालन गर्ने तयारी गरेपछि विवाद झन् गहिरिएको हो।

पूर्णबहादुर खड्कासहितका नेताहरूले दायर गरेको निवेदनमा नयाँ कार्यतालिकाले आफूहरूको सहभागिता सीमित पार्ने र समावेशिताको मर्म विपरीत भएको उल्लेख गरिएको छ।

देउवा समूहले भने यसअघि कार्यसम्पादन समितिबाट तय गरिएको वैशाख २८–३१ को महाधिवेशन तालिका नै वैध रहेको दाबी गर्दै आएको छ।

कांग्रेसभित्रको विवाद अब न्यायिक निर्णयमा निर्भर बन्न पुगेको छ। सर्वोच्च अदालतको आदेशले आगामी राजनीतिक दिशा तय गर्ने सम्भावना देखिएको छ।