बेइजिङमा चीन–ताइवान सम्बन्धमा नयाँ संकेतः सी र ताइवानी विपक्षी नेताबीच दुर्लभ भेट

१ हप्ता अगाडि
बेइजिङमा चीन–ताइवान सम्बन्धमा नयाँ संकेतः सी र ताइवानी विपक्षी नेताबीच दुर्लभ भेट

 

 

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) की नेतृ चेङ ली–वुनबीच  शुक्रबार बेइजिङमा दुर्लभ भेटवार्ता भएको छ। पछिल्लो एक दशकयता कार्यरत केएमटी नेताले चीन भ्रमण गरेको यो पहिलो अवसर मानिएको छ।

वि.सं. २०७३ (सन् २०१६) मा ताइवानमा साई इङ–वेन नेतृत्वको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) सत्तामा आएपछि बेइजिङले ताइवानसँगको उच्चस्तरीय वार्ता प्रायः बन्द गरेको थियो। ‘एक चीन’ नीतिप्रति असहमति जनाइएपछि दुवै पक्षबीच सम्बन्ध चिसिएको अवस्थामा यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

भेटका क्रममा राष्ट्रपति सीले ताइवान स्वतन्त्रताको विरोध दोहोर्‍याउँदै दुवै पक्षबीच शान्ति, स्थिरता र सहकार्यको आवश्यकता औंल्याएका छन्। उनले पारस्परिक समझदारीका आधारमा सम्बन्ध सुधार गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

जवाफमा नेतृ चेङले चिनियाँ जनताको पुनर्जागरण जलडमरुमध्यका दुवैतर्फका जनताको साझा चाहना भएको उल्लेख गर्दै यस प्रकारको संवादले क्षेत्रीय तथा विश्व शान्तिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

तर ताइवानको सत्तारुढ डीपीपीले भने उक्त भ्रमणको आलोचना गरेको छ। उसले चेङको कदमलाई बेइजिङप्रति अत्यधिक झुकेको भन्दै आपत्ति जनाएको छ। हालका ताइवानी राष्ट्रपति लाई चिङ–तेलाई चीनले ‘विखण्डनकारी’ को संज्ञा दिँदै आएको छ।

विश्लेषकहरूका अनुसार यो भेटले चीन–ताइवान सम्बन्धमा वार्ताको सम्भावना देखाए पनि मूल राजनीतिक मतभेद भने यथावत् रहेका छन्। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभागको रूपमा दाबी गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने अडान पनि दोहोर्‍याउँदै आएको छ।