इस्लामावादमा इरान–अमेरिका वार्ता : तनाव घटाउने प्रयास, अविश्वास कायमै

६ दिन अगाडि
इस्लामावादमा इरान–अमेरिका वार्ता : तनाव घटाउने प्रयास, अविश्वास कायमै

काठमाडौं । पश्चिम एसियामा चर्किँदै गएको तनावलाई कम गर्ने उद्देश्यले इरान र अमेरिकाबीच आज इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु हुने भएको छ। दुवै देशका शीर्ष प्रतिनिधिमण्डलहरू पाकिस्तान पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन्। इस्लामावाद अवतरणपछि गालिबाफले अमेरिकासँग संवादको इच्छा भए पनि विश्वासको कमी रहेको बताएका छन्।

इरानी प्रतिनिधिमण्डल मिनाब १६८ नामक विमानमार्फत पाकिस्तान पुगेको हो। उक्त नाम फेब्रुअरी २८ मा मिनाबस्थित एक कन्या विद्यालयमा भएको मिसाइल आक्रमणको स्मरणमा राखिएको हो, जसमा १६८ जनाको ज्यान गएको थियो। इरानले सो घटनाका लागि अमेरिकी सेनालाई जिम्मेवार ठहर गर्दै आएको छ।

गालिबाफले सामाजिक सञ्जालमार्फत विमानभित्र मारिएका बालबालिकाको तस्बिर राख्दै उनीहरूलाई ‘सहयात्री’ का रूपमा स्मरण गरेका छन्।

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। टोलीमा विशेष दूत स्टिभ विट्कफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी छन्।

प्रस्थानअघि भान्सले इरान वार्तामा इमानदारी देखाए अमेरिका सहकार्यका लागि तयार रहेको तर धोका दिने प्रयास भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सहमतिको मुख्य सर्त परमाणु हतियार नबनाउने प्रतिबद्धता रहेको स्पष्ट पारेका छन्।

वार्ताको आयोजक पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसलाई युद्ध अन्त्यका लागि निर्णायक अवसरको रूपमा चित्रण गरेका छन्। पाकिस्तानले पछिल्ला साताहरूमा दुई देशबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ।

यसै सन्दर्भमा लेबनान र इजरायलबीचको तनाव समाधानका लागि पनि आगामी मङ्गलबार वासिङ्टन डीसीमा वार्ता हुने तय भएको छ।

तर इजरायलले हिजबुल्लाहसँग प्रत्यक्ष युद्धविराम वार्ता नगर्ने स्पष्ट पार्दै आएको छ, जसले क्षेत्रीय शान्ति प्रक्रियामा चुनौती थप्ने संकेत दिएको छ।