काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसम आंशिक बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने देखिएको छ। पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुले प्रभाव पार्दा यस्तो अवस्था बनेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। तराईका धेरैजसो स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि हिमाली क्षेत्रमा बदली कायम रहने, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम प्रायः सफा रहनेछ। कोसी, गण्डकी र कर्णालीका हिमाली भूभागका केही स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ।