काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै प्रदेश सरकारले नयाँ भाडा दर निर्धारण गर्दै शनिबारदेखि लागू गर्ने निर्णय गरेको हो।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार मन्त्रीस्तरीय बैठकले नयाँ भाडादर स्वीकृत गरेको हो। निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ।
यात्रु र सामानका लागि नयाँ व्यवस्था
नयाँ व्यवस्थाअनुसार यात्रुले १५ केजीसम्म सामान निःशुल्क लैजान पाउनेछन्। सोभन्दा बढी अधिकतम १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले अतिरिक्त शुल्क लाग्नेछ। तर, सवारीसाधनले तोकिएको भार क्षमताभन्दा बढी सामान बोक्न भने पाइने छैन।
मालवाहक सवारीमा पनि भाडा वृद्धि
मालवाहक सवारीतर्फ प्रतिकिलोमिटर प्रतिटन १४ रुपैयाँ ८० पैसाबाट बढाएर १८ रुपैयाँ ७६ पैसा पुर्याइएको छ, जुन करिब २६.७९ प्रतिशत वृद्धि हो।
उपत्यकाभित्र भाडा २४ देखि ५० रुपैयाँ
काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडा २४ रुपैयाँदेखि ५० रुपैयाँसम्म कायम गरिएको छ।
ट्याक्सी भाडा पनि समायोजन
पेट्रोलबाट चल्ने ट्याक्सीको हकमा प्रति २०० मिटर १२ रुपैयाँ भाडा तोकिएको छ। प्रतीक्षा शुल्क १ रुपैयाँ राखिएको छ भने प्रतीक्षा समय ३० मिनेट तोकिएको छ।
विभिन्न रुटका भाडादर
नयाँ दरअनुसार केही प्रमुख रुटका भाडा यसप्रकार छन्:
काठमाडौं–कुरिनटार (मनकामना केबलकार): ३५४ रुपैयाँ
काठमाडौं–खोपासी: १४२ रुपैयाँ
काठमाडौं–त्रिशूली: २९७ रुपैयाँ
हेटौँडा–नारायणगढ–काठमाडौं: ७६९ रुपैयाँ
काठमाडौं–बाह्रबिसे: ३५६ रुपैयाँ
काठमाडौं–देविघाट–धुञ्चे: ५०३ रुपैयाँ
नेपालथोक–खुर्कोट: २२३ रुपैयाँ
काठमाडौं–धुलिखेल–चरिकोट: १,०६९ रुपैयाँ
मन्त्रालयका अनुसार विद्युतीय सवारीसाधनमा भने यसअघिकै भाडादर यथावत् रहनेछ। इन्धन मूल्य, सञ्चालन खर्च र समग्र आर्थिक अवस्थालाई ध्यानमा राख्दै भाडा समायोजन गरिएको सरकारको भनाइ छ।