सरकारी अस्पतालमा रूखो व्यवहार गर्ने कर्मचारीलाई कक्षा अनिवार्य (कार्यविधिसहित)

६ दिन अगाडि
सरकारी अस्पतालमा रूखो व्यवहार गर्ने कर्मचारीलाई कक्षा अनिवार्य (कार्यविधिसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालको सेवा सुधार गर्न नयाँ कार्यविधि लागू गर्दै सेवाग्राहीसँग दुर्व्यवहार गर्ने कर्मचारीलाई अनिवार्य ‘सफ्ट स्किल’ तालिममा सहभागी गराउने व्यवस्था गरेको छ।

मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गर्दै सेवा प्रवाहलाई व्यवस्थित, प्रभावकारी र सेवामैत्री बनाउन विभिन्न नयाँ प्रावधानहरू समावेश गरेको हो।

कार्यविधिअनुसार अस्पतालका कर्मचारीले सेवाग्राहीसँग नम्र व्यवहार गर्नुपर्नेछ। “म तपाईंलाई के सहयोग गर्न सक्छु?” भन्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइएको छ। यदि कुनै कर्मचारीले सेवाग्राहीसँग रूखो व्यवहार गरेमा उसलाई कार्यालय समयपछि एक घन्टाको विशेष तालिम (सफ्ट स्किल सेसन) मा सहभागी गराउनुपर्ने व्यवस्था गरिएको छ।

यससँगै कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गरिएको छ भने नियमित अनुगमनका लागि जिम्मेवार व्यक्ति तोक्नुपर्ने प्रावधान पनि राखिएको छ। ड्युटीमा अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने उल्लेख गरिएको छ।

सेवाग्राहीको भीड व्यवस्थापनका लागि बढी चाप हुने अस्पतालहरूमा टिकट तथा क्यास काउन्टर थप गर्नुपर्नेछ। साथै, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा आकस्मिक बिरामीलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवाका प्रतिवेदन सकेसम्म २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। अस्पतालहरूले अनलाइन बुकिङ र रिपोर्ट वितरण प्रणाली लागू गर्नुपर्नेछ भने सबै सेवा बिन्दुमा उच्च गतिको इन्टरनेट सुनिश्चित गर्नुपर्ने भनिएको छ।

कार्यविधिले सरकारी अस्पताललाई आफ्नै सुलभ फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ। चिकित्सकहरूले औषधि सिफारिस गर्दा अस्पतालमा उपलब्ध औषधिको सूचीअनुसार प्रेस्क्रिप्सन लेख्नुपर्ने उल्लेख छ।

आकस्मिक अवस्थामा आएका बिरामीलाई सेवा उपलब्ध नभए अन्य सरकारी अस्पतालसँग समन्वय गरी तुरुन्तै प्रेषण गर्नुपर्ने प्रावधान पनि कार्यविधिमा राखिएको छ।