काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै, मुख्य रुट तय

६ दिन अगाडि
काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै, मुख्य रुट तय

काठमाडौँ । नयाँ वर्षसँगै राजधानीमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा आउने भएको छ।

बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने गरी योजना बनाइएको यस सेवाले उपत्यकाभित्रका प्रमुख क्षेत्रलाई समेट्नेछ। ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल अस्पताल हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बूढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । 

थानकोटबाट छुट्ने बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरर्राष्ट्रिय विमान स्थल पुग्नेछ । अर्को बस त्रिभुवन विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोट जानेछ ।

बसहरू विभिन्न अस्पताल, व्यापारिक क्षेत्र तथा मुख्य चोकहरू हुँदै सञ्चालन हुनेछन्। प्रत्येक बिसौनीमा करिब २० मिनेटको अन्तरमा बस उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

यस सेवाले रातिको समयमा यात्रा गर्ने यात्रुहरूलाई सहजता दिने अपेक्षा गरिएको छ। साथै, निजी सवारीमा निर्भरता घटाउने र सार्वजनिक यातायातको प्रयोग बढाउने लक्ष्य राखिएको छ।